बाँकेमा थारू सुमदायका व्यक्तिलाई लाग्ने रोग सिकलसेलका बिरामी बढ्दै

0
1597645243_veri hospital

नेपालगन्ज । पछिल्लो समय बाँके जिल्लाका थारू सुमदायमा देखिएको सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ।

उपचारार्थ भेरी अस्पताल, नेपालगञ्ज आउने बिरामीको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ। यस्ता बिरामीलाई एक लाखसम्म निःशुल्क उपचार गर्ने सरकारको नीति छ तर एउटा बिरामीका लागि सो रकम अपुग भएको अस्पतालका चिकित्सक बताउँछन्।

अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले प्रतिदिन सरदर २०० सिकलसेलका बिरामी उपचारका लागि आएको जानकारी दिँदै रोग पहिचानका लागि थारू समुदायका बस्तीमा स्वास्थ्य कार्यालयमार्फत शिविरसमेत सञ्चालन गरिएको बताए।

उनले सिकलसेलसँगै थालसेमिया रोगसमेत देखिएको उल्लेख गर्दै शिविरमार्फत सिकलसेलको स्क्रिनिङ परीक्षणपछि थप बिरामीको भेरी अस्पतालमा रहेको ‘एचबी एलेक्ट्रो फोरोसिस’ मेशिनबाट सिकलसेल रोग निश्चित गरेपछि मात्रै सरकारले उपचार गर्ने जानकारी दिए।

उनले सिकलसेल र थालसेमिया दुवै रोग रगतसँग सम्बन्धित रोग भएको बताए। जिल्लाको थारू समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ती समुदायमा सिकलसेलका बिरामी देखिएका छन्। राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै १५० जनाको परीक्षण गर्दा २१ लाई सिकलसेल पुष्टि भएको छ।

स्वास्थ्य कार्यालयले दश दिनदेखि यस क्षेत्रमा सिकलसेल तथा थाल सेमिया रोगको परीक्षण गरी जाँच गरिरहेको छ। सो अवधिमा चार सय जनाको परीक्षण गरिसकेको ती मध्येमा ३१ प्रतिशतलाई सो रोग देखा परेको छ। कार्यालयका अधिकृत नरेश श्रेष्ठले थारू समुदायमा सिकलसेल तथा थालसेमिया भन्ने लुकेका बिरामी धेरै हुन सक्ने जानकारी दिए।

कोहलपुरमा नगरपालिका आफैंले सिकलसेल जाँच गरेको छ। नगरपालिकाले नौ हजार मानिसको परीक्षण गर्दा सात सयमा सो रोग देखा परेपछि उनीहरुको उपचार गरिरहेको छ। जिल्लामा कोहलपुर, राप्ती सोनारीसँगै बैजनाथमा थारू समुदायको बसोबास बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed