मर्जर के हो ? एक्विजिशन के हो ?

0
murger

काठमाडौं । दुई वा दुई भन्दा बढी इजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभिई नयाँ संस्था बन्ने कार्यलाई मर्जर भनिन्छ । मर्जर प्रक्रियामा गाभ्ने र गाभिने संस्था संलग्न हुन्छन् ।

गाभिने संस्थाको सम्पत्ति, दायित्व वा व्यवसायलाई आफूले स्वीकार गरी लिन मन्जुर गरेको इजाजतपत्रप्राप्त संस्था गाभ्ने संस्था हो भने आफ्नो सम्पत्ति, दायित्व वा व्यवसायलाई गाभ्ने संस्थामा हस्तान्तरण गर्ने तथा गाभ्ने कार्य समाप्त भएपछि कानूनी अस्तित्व समाप्त हुने इजाजतपत्रप्राप्त संस्था गाभिने संस्था हो ।

प्राप्ति (एक्विजिशन) भन्नाले एउटा इजाजतपत्रप्राप्त संस्थाले अर्को इजाजतपत्रप्राप्त संस्थालाई खरिद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य बुझिन्छ । लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनु पूर्व गरेका सम्पूर्ण करारीय दायित्व स्वीकार गर्ने कार्य नै प्राप्ति हो ।

दुई वित्तीय संस्था मर्जरपछि नयाँ वित्तीय संस्था बन्छ, जसमा दुवै संस्थाको व्यवस्थापनको प्रतिनिधित्व हुने गरी नयाँ व्यवस्थापन बनाइन्छ ।

मर्जरपछि बन्ने नयाँ संस्थामा सीईओ को रहने, केन्द्रीय कार्यालय कहाँ रहने भन्ने विषयमा छलफल गरी निर्णय गरिन्छ । बैंकको नाम पनि परिवर्तन हुने अथवा दुबै बैंकको प्रतिनिधित्व हुने गरी नाम राख्ने भन्ने विषयमा दुवै पक्षको छलफल हुन्छ । प्राप्ति गर्दा सीईओ वा केन्द्रीय कार्यालय परिवर्तन गरिँदैन । बैंकको नाम परिवर्तन हुँदैन ।

प्राप्ति भएको बैंक प्राप्ति गर्ने बैंकमा विलय भएपछि उसको अस्तित्व रहँदैन । मर्जर वा एक्विजिसन गर्दा बैंकहरुले अपनाउनुपर्ने प्रक्रिया भने समान रहेको छ ।

बैंकिङ प्रणालीको संवद्र्धन गर्न एवम् पुँजीगत आधार बलियो बनाउन बैंकहरुबीचमा मर्जर वा एक्विजिसन गराइन्छ । यसबाट बैंकको वित्तीय, मानव संशाधन, प्राविधिक एवम् अन्य क्षमता अभिवृद्धि हुन्छ ।

कुनै पनि वित्तीय संस्थाले गाभ्ने गाभिने अर्थात मर्जर र प्राप्ति अर्थात एक्विजिसन प्रक्रिया एकैसाथ अगाडी बढाउन नपाउने राष्ट्र बैंकको प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed