Banking Khabar
अर्थतन्त्र

लक्ष्यभन्दा ४४ करोड बढी राजस्व संकलन

shilalekha
shilalekha
प्रकाशित: March 3, 2021
March 3, 2021
सेयर:

काठमाडौं । अन्तरिक राजस्व कार्यालय धरान सुनसरीले चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल रु एक अर्ब ६४ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले रु एक अर्ब २० करोड ८७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु ४३ करोड ८५ लाख राजस्व बढी सङ्कलन गरेको छ ।

यो लक्ष्यको तुलनामा ३६ दशमलव २८ प्रतिशत बढी भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए । कार्यालयका अनुसार सो अवधिमा आयकरतर्फ रु ४२ करोड १५ लाख लक्ष्य लिएकोमा रु ४९ करोड राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै मूल्यअभिवृद्धिकरतर्फ रु ३३ करोड १८ लाख लक्ष्य लिएकोमा सो अवधिमा रु ४९ करोड १७ लाख र अन्तःशुल्कतर्फ रु ३९ करोड लक्ष्य लिएकोमा रु ६२ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्षका लागि कूल रु दुई अर्ब २८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्यमा सो अवधिमा ठूलो उपलब्धि हासिल भइसकेकाले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न अहिले तथ्याङ्क नियाल्दा कुनै समस्या नरहने प्रमुख बरालको दाबी छ ।

कूल तीन हजार ५०० सेवाग्राही भ्याटमा दर्ता भएको र पान लिनेको सङ्ख्या पनि उल्लेखनीय रहेको जानकारी दिँदै उनले गएको पुषबाट आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा पनि कर तिर्न एवं दाखिला गर्ने व्यवस्था भएपछि अब सेवाग्राहीलाई कुनै समस्या नहुने बताए।

आन्तरिक राजस्व कार्यालयको कोशी अञ्चलको धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा पनि सेवा कार्यालय भएकाले पहाडी एवं दूर्गम क्षेत्रमा सेवाग्राहीलाई सेवा लिन कुनै समस्या नभएको बताइएको छ ।

आन्तरिक राजस्व कार्यालय धरानले अब उप्रान्त धरान उपहानगरपालिका र बराह क्षेत्र गाउँपालिकाको वडा नं १ देखि ७ सम्मका सेवाग्राहीलाई मात्र सेवा प्रदान गर्ने भएको छ ।