‘वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा. केसीको ज्यान लिने नियत राखियो’

डा. गोविन्द केसीको पक्षमा देशभर आन्दोलन गर्न अपिल



काठमाडौं । सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा. गोविन्द केसीको ज्यान लिने नियत राखेको आरोप केसी पक्षको वार्ता टोलीले लगाएको छ ।

केसी पक्षले देशभर दबाबमुलक कार्यक्रम जारी राख्न सबै नागरिकलाई अपिलसमेत गरेको छ । सरकार र डा. केसी पक्षबीच शुक्रबार वार्ता भएको थियो । तर वार्तामा कुनै सहमति भएन । सरकार प्रक्रियागत कुरामा पछि हटेकाले सहमति नभएको आरोप केसी पक्षले लगाएको छ ।
केसी पक्षका वार्ता टोली संयोजक डा। जीवन क्षेत्रीले वार्तामा बस्नुअघि अनौपचारिक छलफलबाट बनेको समझदारीको मस्यौदामा सरकारी टोलीले हेरफेर गरेको आरोप लगाउनुभएको छ ।

डा. क्षेत्रीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।’

डा. क्षेत्रीका अनुसार सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा आयोग, विभिन्न प्रतिष्ठानहरु, मन्त्रालयहरुलगायतका पदाधिकारीहरुसित छलफल र परामर्श गरी आवश्यक गृहकार्य गरेको थियो । दुवै पक्षको गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा. केसीले राखेका मागहरुका सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो । तर असोज २३ गते उक्त समझदारीबाट पछि हट्दै सरकारी वार्ता टोलीले प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न प्रयास गरेको थियो ।

१९ औं सत्याग्रहको आज २७ दिन पुग्दा डा. केसीको स्वास्थ्य असाध्यै नाजुक भइसकेको डा। क्षेत्रीले जानकारी दिएका छन् । डा। क्षेत्रीले तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै त्यसको कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न सरकारसँग माग गरेका छन् ।
त्यसका लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारु गर्न तथा काठमाडौंमा आज मध्यान्ह १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित हुन डा. क्षेत्रीले सबै नागरिकलाई अपिल गनुर्भएकाे छ ।

‘सत्याग्रहीको ज्यानै लिने सरकारको हिंस्रक चरित्रविरुद्ध निरन्तर संघर्ष गर्दै नेपालमा लोकतन्त्रको मर्म बचाउन राजनीतिक दलहरुलाई समेत अपिल गर्दर्छौं,’ केसीको तर्फबाट वार्ता टोली संयोजक डा. क्षेत्रीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यस्ताे छ विज्ञप्ति

डा गोविन्द केसीको १९औं सत्याग्रहको आज २७औं दिन भइसकेको छ र डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसकेको छ । यसबीच नेपाल सरकार र डा केसी तर्फको वार्ता टोलीबीच दुई दिनसम्म वार्ता भइसकेको छ । त्यस क्रममा सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा आयोग, विभिन्न प्रतिष्ठानहरु, मन्त्रालयहरुलगायतका पदधिकारीहरुसित व्यापक छलफल, परामर्श र गृहकार्य गरेको थियो । दुवै पक्षको गम्भीर गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा केसीले राख्नुभएका मागहरु सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो । 

तर असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त समmभदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभुत विषयमा फरक कुरा समेट्न प्रयास गर्यो । त्यस क्रममा अनौपचारिक पहलमार्फत डा केसी केही बुँदामा थप लचिलो समेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो । तर असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियत समेत उदांगो भयो। 

त्यसैले डा केसीको स्वास्थ्यमा जोखिम बढेर जटिलता आइ ज्यानै जान सक्न सम्भावना रहेकाले तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिंदै त्यसको कार्यान्व्यन सुनिश्चितताका लागि मन्त्री परिषद्बाट पारित गर्न सरकारसामू जोडदार माग गर्दर्छौं । त्यसका लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारु गर्न तथा काठमाडौंमा आज मध्यान्ह १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित हुन सबै नागरिकलाई अपिल गर्दर्छौं । 

साथै सत्याग्रहीको ज्यानै लिने सरकारको हिंस्रक चरित्रविरुद्ध निरन्तर संघर्ष गर्दै नेपालमा लोकतन्त्रको मर्म बचाउन राजनीतिक दलहरुलाई समेत अपिल गर्दर्छौं । 

डा जीवन क्षेत्री, संयोजक
डा गोविन्द केसीको तर्फबाट गठित वार्ता टोली

Nabintech