काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआइजी)को दरबन्दी सृजना गरेको थियो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै पोखरेलसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा उभिएका छन् ।
गत वर्ष नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएन्डएम)बाट तीन जनाबाट थप गरेर एक एआइजीको दरबन्दी बढाउने निर्णय भएको थियो । नयाँ ओएन्डएम नभइकन अहिले एआइजी दरबन्दी बढाइएको हो । सुरक्षा संगठनमा दरबन्दी बढाउने वा घटाउने विषयमा ओएन्डएम हुनुपर्ने कानुनी मान्यता प्रावधान रहेको छ ।
नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा. आशा सिंह छन् ।