काठमाडौं । उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्न जंगी अड्डाले सिफारिससहितको फाइल रक्षा मन्त्रालयमा पठाएको छ ।
प्रधानसेनापति अध्यक्ष हुने बढुवा समितिले ७ दिने सूचना जारी गरी उनका विरूद्धमा उजुरी माग गरे पनि कुनै उजुरी नपरेपछि जंगी अड्डाबाट फाइल मन्त्रालय पुगेको हो ।
तर, मन्त्रालयबाट यो फाइल सहजै अघि बढ्ने देखिँदैन। एक त अख्तियारले सिग्देलविरूद्ध परेका उजुरी र सम्बन्धित कागजात मन्त्रालयमै पठाएर छानबिन गर्न भनेको छ। अर्को, सिग्देलको फाइल सिंहदरबार पुग्नासाथ उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्र संघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन सोमबार घाना प्रस्थान गरिसकेका छन्। उनी शनिबार मात्र स्वदेश फर्कने कार्यक्रम छ। आइतबारसम्म भद्रकालीमुनिको टुकुचामा धेरै पानी बगिसकेको हुनेछ।
स्रोतअनुसार, मन्त्री खड्काले यो विवाद जंगी अड्डाबाटै समाधान होस् भन्ने चाहेका छन्। विवादित फाइल बोकेर उनी मन्त्रिपरिषद् बैठकमा जाने सम्भावना कम छ। यसअघि ताराध्वज पाण्डेको विवादमा पनि खड्काले यही नीति अपनाएका थिए
तर, त्यतिखेर पाण्डे राजीनामा दिएर हिँड्नुको मुख्य कारण उनका कागजात छानबिनका लागि रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति बनाउनु थियो। सिग्देलका हकमा अहिलेसम्म कुनै पनि तहमा छानबिनको पहल गरिएको छैन। त्यसैले न उनी राजीनामा दिएर हिँड्छन् भन्ने यकिन भएको छ, न त जंगी अड्डाले कोर्टमार्सल गर्ने निश्चितता छ।
निश्चितचाहिँ के छ भने विवादकै बीच सरकारले बढुवा गरिहाले पनि उनीमाथि जन्म मिति विवादको तरबार रहिरहनेछ। उपरथीबाट रथी भए पनि महारथी बन्ने बेलासम्म त्यो तरबार जुनसुकै बेला चल्न सक्नेछ।
सैनिक मुख्यालय स्रोतका अनुसार, पाण्डे र सिग्देलका कागजातबारे प्रश्न धेरैअघि उठेका हुन्। पाण्डे प्रकरणबाट त झनै पाठ सिक्नुपर्ने थियो। तर, त्यसो हुन सकेन। परिणामतः सेनाकै अभिलेख प्रणाली र सैन्य नेतृत्वमाथि प्रश्न उठ्ने गरी नयाँनयाँ प्रकरण बाहिरिँदै छन्।
विवाद यस्तो छ
सिग्देल हाल नेपाली सेनाको नीति महानिर्देशक छन्। उनी वरिष्ठतम् उपरथी पनि हुन्।
कागजातहरूमा सिग्देलको स्थायी ठेगाना रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ७ उल्लेख गरिएको छ। उनी विश्वराज सिग्देलका छोरा हुन्।
नेपालखबरलाई प्राप्त कागजातहरू अनुसार, उपरथी सिग्देलले २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट नागरिकताको प्रमाणपत्र बनाउँदा उमेर १९ वर्ष लेखाएका छन् भने ढड्डामा जन्म मिति २०२१ साल जनाइएको छ।
तत्कालीन समयमा नागरिकताको प्रमाणपत्रमा जन्म मिति उल्लेख नगरी बनाउँदाको मितिमा हुन आउने उमेर मात्र ‘वर्ष’मा उल्लेख गर्ने चलन थियो। रुपन्देही प्रशासनमा रहेको नागरिकताको ढड्डामा हालसम्म उनको जन्म मिति २०२१ साल नै उल्लेख छ।
परीक्षा नियन्त्रण कार्यालयको अभिलेखअनुसार, २०३९ सालको प्रवेशिका ९एसएलसी० परीक्षामा पनि यही जन्ममिति उल्लेख छ। सिम्बोल नं ८८०५९ डब्लु रहेका उनले एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरेका थिए।
२०४० मा सुपिङ बहुमुखी क्याम्पस ९हाल सैनिक आवासीय महाविद्यालय० मा भर्ना हुँदाको अभिलेख ९२०४०/४२ मानविकी पाँचौँ ब्याच, दर्ता नं १६० र त्रिभुवन विश्वविद्यालयको अभिलेख रजिस्ट्रेसन नं ७०८–८४० मा पनि जन्म मिति २०२१ चैत १९ उल्लेख गरिएको देखिन्छ।
सिग्देलले २०४३ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको कागजातले देखाउँछ। त्यतिन्जेल उनको जन्म मिति २०२१ चैत १९ भन्ने नै देखिन्छ।
त्यसपछि भने सुपिङ क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख कमलराजसिंह राठौरले चारित्रिक प्रमाणपत्र बनाउँदा उनको उमेर घटाइदिएका छन्। २०४३ भदौ १२ गते राठौरले जारी गरेको प्रमाणपत्रमा जन्म मिति २०२३ माघ १९ गते लेखिदिएका छन्।
तिनै सिग्देल २०४३ फागुनमा नेपाली सेनामा भर्ना हुन्छन्, आफ्नो नागरिकताको प्रमाणपत्रमा उल्लिखित उमेर १९ वर्षलाई केरमेट गरी १७ वर्ष बनाएर।
वास्तविक जन्म मितिका आधारमा सेनामा भर्ना हुने उमेर २१ वर्ष नाघिसकेकोले जागिर खाने उद्देश्यले उनले नागरिकतामा केरमेट गरेको प्रस्ट देखाउँछ।
सुपिङ क्याम्पस र त्रिभुवन विश्वविद्यालयको अभिलेख समेतमा स्पष्ट रूपमा जन्म मिति २०२१ चैत १९ उल्लेख हँदाहुँदै हाल सैनिक प्रतिष्ठान खरिपाटीमा अध्यापनरत सुपिङ क्याम्पसका तत्कालीन प्रमुख राठौरसँग मिलेमतो गरी सिग्देलले जन्म मिति बदलेर प्रमाणपत्र नै किर्ते गरेको देखिन्छ।
यतिले नपुगेर सिग्देलले रुपन्देही जिल्लाबाट बनाएको नागरिकतामा गरेको केरमेट ढाकछोप गर्न २०५८ सालमा आफ्नो पद र शक्तिको प्रभावमा जाजरकोटबाट अर्को प्रतिलिपि नागरिकता लिएका छन्, जसमा जन्म मिति २०२३ माघ १९ गते लेखाएका छन्।
उपरथी दर्जामा बढुवा हुन उनले २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा पनि केरमेट गर्न लगाए। विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्म मिति २०२१ चैत १९ लाई मेटेर उनले २०२३ माघ १९ बनाउन लगाए। साथै, प्रवेशिका परीक्षाको अभिलेख रहेको परीक्षा नियन्त्रण कार्यालयको ढड्डामा समेत त्यही बेला परिवर्तन गरेको देखिन्छ।
यसरी उपरथी सिग्देलले २०४३, २०५८ र २०७६ सालमा गरी तीनपटक फरकफरक मितिमा विभिन्न कागजातमा जन्ममिति हेरफेर गरेको देखिन्छ। यी विषयमा रुपन्देही जिल्ला प्रशासन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र त्रिभुवन विश्वविद्यालयका अभिलेख झिकाइ स्वतन्त्र र निष्पक्ष जाँच हुनुपर्ने माग गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि रक्षा मन्त्रालयमा समेत उजुरीहरू परेका छन्।
सैनिक ऐनअनुसार उपरथी पदमा ५७ वर्षको उमेरसम्म जागिर खान पाइन्छ। सहायक रथीबाट उपरथीमा बढुवा भएपछि पहिलोपल्ट पदावधि ३ वर्षको हुन्छ। उमेर ५७ वर्ष नाघेको छैन भने प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषदले २ वर्ष थप्न सक्छ। सिग्देल पनि २ वर्ष थपिएका अधिकारी हुन्।
वास्तविक जन्म मितिअनुसार २०७८ सालमै उनी सेवा निवृत्त हुनुपर्ने हो। अझ उनी सेवा प्रवेशकै बेला २१ वर्षको हद पार गरिर अयोग्य भइसकेकाले किर्ते गरेर सेनामा छिरेको देखिन्छ।
नेपाली सेनामा यस्तो जन्ममिति विवाद निकै बढी सतहमा आएपछि २०७१ सालमा नीतिगत निर्णय नै गरिएको थियो। जसअनुसार, शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक पर्दा सबैभन्दा अघिल्लोलाई आधार मान्नुपर्छ। यस नियमले पनि सिग्देललाई अहिलेसम्म छोएको देखिँदैन।