ललितपुर छम्पीमा विश्वकै ठूलो भैरवको मुखाकृतिसहित ‘आर्ट भिलेज’ बन्दै


काठमाडौं । ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः ‘मुखाकृति’ सहित ‘नेपाल आर्ट भिलेज’ निर्माण थालिएको छ ।

पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले जानकारी दिए ।
ख्वापाः लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिने छ । भवनको अगाडिपट्टि ख्वापाः र भवनभित्र कला संग्रहालय स्थापना हुनेछ । परियोजनाले यसलाई विश्वकै ठूलो भैरवको ख्वापाः निर्माण गरी गिनिज बुकमा नाम लेखाउने जनाएको छ ।

कूल २ सय ३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १ सय ८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहने परियोजनाको भनाइ छ ।
प्रवक्ता महर्जनका अनुसार भवन परिसरमा गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति राखिने छ ।

मुखाकृतिको ४२ फिटको उचाइमा भएको भैरवको आँखा (भैरव दृष्टि) बाट काठमाडौं उपत्यका र मनोरम हिमशृङ्खला समेत अवालेकन गर्न सकिने छ ।

ख्वापाः परिसरमा विभिन्न समुदायका रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभाकक्ष निर्माण गरिने बताइएको छ । परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैँचा जस्ता भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, वृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, ९ब्यांक्वेट०, टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकुद, स्विमिङपुल लगायत समेत सुविधा हुनेछ ।

वरिष्ठ कलाकार स्वर्गीय राजकुमार शाक्यको नेतृत्वमा ख्वापाः निर्माण सुरु भएको थियो । हाल शाक्यका छोराहरू स्वरूप र सौरभ नेतृत्वको कलाकार टोलीले उक्त जिम्मेवारी लिएको छ ।

प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा २०७४ सालमा जग्गा एकीकरण/संकलन गरी सुरु भएको परियोजनाको २०७७ सालमा विधिवत् शिलान्यास गरिए पनि संस्थापक अध्यक्ष तथा प्रसिद्ध कलाकार राजकुमार शाक्यको निधनका कारण निर्माण प्रक्रिया केही समय सुस्ताएको थियो ।

हाल भैरव ख्वापाः निर्माण कार्य तीव्र गतिमा भइरहेको नेपाल आर्ट भिलेज प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए ।

यो स्थान ललितपुर एकान्तकुनाबाट भैंसेपाटी–बुङ्गमति हुँदै १०.५ किलोमिटर, एकान्तकुनाबाट चुनिखेल हुँदै १३ किलोमिटर र सातदोबाटोबाट चापागाउँ हुँदै १५ किलोमिटरको दूरीमा छ ।

हाल त्यहाँ पुग्ने सडकमार्ग स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल भइरहेको र काम अघि बढाइएको जनाइएको छ । ललितपुरबाट हेटौंडा जोड्ने कान्ति लोकपथको टिकाभैरवबाट तीन किलोमिटर दूरीमा पुग्न सकिन्छ । हाल यस क्षेत्रमा सडक र खानेपानीका लागि केन्द्र र प्रदेश सरकारबाट समेत बजेट विनियोजन गरिएको छ ।

Nabintech