Banking Khabar
शेयर

साताको अन्तिम कारोबार दिन नेप्से घट्यो, कारोबार बढोत्तरी कायमै

shilalekha
shilalekha
प्रकाशित: February 11, 2021
February 11, 2021
सेयर:

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ८.६६ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने १६ अंक घटेको छ।

बुधबार शेयरबजार सकारात्मक भएर बन्द भएपछि लगानीकर्ताहरुले यस दिन पनि सकारात्मक हुने अपेक्षा गरेका थिए। कारोबार अवधिमा नेप्सेले पनि बारम्बार माथि उक्लिने प्रयास गरेको थियो तर, बजारमा बिक्रीकर्ताको चाप बढी भएको कारण उक्लिन सफल हुन सकेन।

 

बिहीबार नेप्से परिसूचक १६.११ अंक घटेर २५२६.९२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेर ४६३.४७ विन्दुमा झरेको छ। यस दिन फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३६ अंक घटेको छ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन २०६ कम्पनीको ७२ हजार ७३७ पटकको कारोबारमा ८ अर्ब ४१ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ६० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक सामान्य अंक बढेपनि अन्य उपसमूहका परिसूचक ओरालो लागेपछि नेप्से घट्न दबाब पुगेको हो।

यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.६ प्रतिशत बढेको छ भने विकास बैंकको ०.७७ र म्युचुअल फण्डको ०.२२ प्रतिशत बढेको छ। कारोबारमा आएका लघुवित्त र होटल उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, व्यापार, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन डिप्रोक्स लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ५६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कम्पनी आज २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

जसका कारण लघुवित्तको कारोबारमा उछाल आएको हो। त्यसैगरी, यस दिन नबिल बैंक, कुमारी बैंक र प्रभु बैंकको ३० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ५.०३ प्रतिशत बढेको छ। त्यसैगरी, लुम्बिनी विकास बैंकको ४ प्रतिशत र ज्योति विकास बैंकको ३.९८ प्रतिशत बढेको छ।

कारोबारमा आएका सर्पोट माइक्रोफाइनान्स र डिप्रोक्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।