ललिता निवास प्रकरण : कांग्रेस उपसभापति गच्छदार १० लाख नगद धरौटी बुझाएर छुटे !

0
gacgdarrr finalllll

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् ।

बुधबार विशेष अदालतमा हाजीर गर्न उपस्थित भएका गच्छदार बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।
उनले भने – ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीको हकमा विशेष अदालत ऐन २०५९ को दफा ७९( घ)बमोजिमको अवस्था विद्यमान रहेको देखिदाँ पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाललाई यी प्रतिवादी सँग १० लाख नगद वा सो बराबरको बैंक ग्यारेन्टी माग गरिएको छ ।

उल्लेखित धरौटी वा बैंक ग्यारेन्टी लिई निजलाई तारिखमा राख्न र सो दिन नसके नियमानुसार थुनामा राख्नुहुन सम्बन्धित कारागार कार्यालयमा लेखी पठाउनु यति आज आदेश भएको छ । उहाँले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुँदै हुनुहुन्छ ।’

धरौटी बुझाएर रिहा भएसँगै गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोध पूर्ण अभियोग लगाएको बताए । आफु रुल अफ ल र लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे भएको भन्दै उनले विशेष अदालतको निर्णयलाई सम्मान गर्ने बताए ।

गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

त्यसमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको नामसमेत उल्लेख थियो । गच्छदारविरुद्ध विशेष अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed