Banking Khabar
प्रदेश

लुम्बिनी सरकारले बनायो स्वास्थ्य राज्यमन्त्री विमला वलीमाथि छानबिन गर्न कार्यदल

shilalekha
shilalekha
प्रकाशित: June 15, 2022
June 15, 2022
सेयर:

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न कार्यदल गठन गरेको छ।

वलीले मंगलबार एक महिला र नाबालिकामाथि कुटपिट गरेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो।

यो घटनाबारे सत्यतथ्य छानबिन गर्न प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। आज बसेको मन्त्रिपरिषद बैठकले वलीमाथि छानबिन गर्न कार्यदल गठन गरेको हो।

उक्त कार्यदलमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि मंगलबार वलीले हातपात गरेकी थिइन्।

वली स्वास्थ्यमा समस्या आएको भन्दै गए रातिदेखि लुम्बिनी प्रदेश अस्पतालमा भर्ना भएकी छन्। मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा उनलाई मंगलबार साँझ बुटवल ल्याइएको थियो।

वलीलाई माओवादी केन्द्रकी सांसद दामाकुमारी शर्माको निगरानीमा राखिएको छ। प्रदेश सरकार र माओवादी वलीको बचाउमा लागेको आरोप पनि लागेको छ।मीनाले वलीमाथि जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको छैन।

घरभित्र पसेर आफू र छोरीमाथि कुटपिट गरिएको र दराज फोरेर लत्ताकपडा फाल्ने र च्यात्ने गरेको भन्दै मीनाले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएकी थिइन्।

मीनाको श्रीमान एकराज बस्नेत र मन्त्री वलीका बीच नजिकको सम्बन्ध रहेको बताइएको छ।

एकराजलाई दिएको पैसा लिन जाँदा मीनाले गाउँलेहरुलाई बोलाएर वलीलाई दुर्व्यवहार गरेको माओवादीका एक सांसदले दाबी गरेका छन्।