Banking Khabar
खेलकुद

एलपीएल: काठमाडौं र रुपन्देहीको टिम विजयी

shilalekha
shilalekha
प्रकाशित: March 1, 2021
March 1, 2021
सेयर:

काठमाडौं । धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल ) अन्तर्गत आज भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्याइट हाउस विजयी भएको छ।

आज भएको पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनायो।

उसका लागि अंकित बिएमले ३३, सन्दीप विष्टले ३१ र सुवाश थापाले ३० रन बनाए। बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले ३, विजय विश्वकर्मा र यकुव मियाले २/२ विकेट लिए।

१ सय ७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको रोजी बर्ड्सले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो। उसका लागि खुम चौधरीले अविजित रहँदै २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

रोजी बर्ड्सलाई सस्तैमा समेट्ने क्रममा न्यू एकेडेमीका सन्दीप विष्टले ३, सुरेश रावल र अनिल थापाले २र२ विकेट लिए। खेलका म्यान अफ द म्याच न्यू एकेडेमीका सन्दीप विष्ट भए।

प्रतियोगिताअन्तर्गत आजै भएको दोस्रो खेलमा काठमाडौँको हिमालयन ह्याइट हाउसले कञ्चनपुरको लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको लिटल बुद्धले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै बनाउन सक्यो। उसका लागि रोयल बम र राजेश ऐरले १५–१५ रन बनाए। हिमालयन ह्याइट हाउसका लागि गजेन्द्र बोहराले ५ र सन्दिप शाहीले ३ विकेट लिए।

७३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको हिमालयन ह्याइट हाउसले ११ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उस्का लागि दीपक बोहराले अविजित ५० र निश्चल थापाले १९ रनको योगदान दिए ।

बलिङतर्फ लिटल बुद्धका सागर भण्डारी र राजेश ऐरले १/१ विकेट लिए। खेलका म्यान अफ द म्याच गजेन्द्र बोहरा भए।

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भइरहेको पाँचौं संस्करणको प्रतियोगिताअन्तर्गत भोलि पनि दुई खेल हुनेछन्।

प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ।