Banking Khabar
कर्णाली प्रदेश

कर्णाली प्रदेशको विवाद मिलाउने जिम्मा प्रचण्डले प्रधानमन्त्री ओलीकै हातमा सुम्पिए

shilalekha
shilalekha
प्रकाशित: October 12, 2020
October 12, 2020
सेयर:

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरूद्ध ल्याइएको अविश्वास प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । तत्कालीन एमाले र माओवादी एकताअघि पूर्व एमालेतर्फका १५ सांसद र पूर्वमाओवादीका ३ सांसदले शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

सोमबार ओलीसँग बालुवाटारमा झण्डै एक घण्टासम्म भएको भेटमा प्रचण्डले कर्णाली प्रदेशको विवाद मिलाउने जिम्मा ओलीकै भएको बताउनुभएको स्रोतले जनाएको छ।  ‘कर्णालीमा जे भयो राम्रो भएन भनेर प्रचण्डले भन्नुभयो’, प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले नै मिलाएर लैजानुपर्छ भन्ने कुरा भयो।’ प्रचण्डले पार्टी एकताको काम नसकिँदै एकता विपरीतको गतिविधि भएकोमा प्रधानमन्त्री ओलीविरूद्ध असन्तुष्टि जनाएको बताइएको छ।

शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसद यमलाल कँडेल प्रधानमन्त्री ओली निकट मानिनुहुन्छ । उहाँ मुख्यमन्त्रीका प्रत्यासी पनि हुनुहुन्थ्यो । तर मुख्यमन्त्री भागवण्डा हुँदा कर्णाली प्रदेश पूर्व माओवादीको भागमा परेको थियो।

१८ सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न कर्णाली प्रदेशको नेकपा संसदीय दलको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ।