Banking Khabar
विकास/पूर्वाधार

द्रुतमार्गको सुरुङ ठेक्कामा चिनियाँ कम्पनीले मात्रै भाग लिन पाउने

shilalekha
shilalekha
प्रकाशित: February 16, 2021
February 16, 2021
सेयर:

काठमाडौं । मुलुकका धेरैजसो ठूला बजेटका पूर्वाधार आयोजनामा वर्चस्व बढाएका चिनियाँ कम्पनीको सूचीमा काठमाडौं–तराइ-मधेस द्रुतमार्गको सुरुङ निर्माण पनि पर्ने भएको छ।

नेपाली सेनाले उक्त आयोजनाका लागि ‘माइलस्टोन’ मानिएको सुरुङमार्गको ठेक्का आह्वान गरेको छ। सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गको तीन वटा सुरुङमार्गलाइ दुई प्याकेजमा ठेक्का निकालिएको छ। पहिलो प्याकेजमा महादेवडाँडामा निर्माण हुने ३।३०० किलेमिटर सुरुङमार्गसहित मोटरेवल पुल र सडकको सेक्सन पनि छ। यो आयोजनाको सबैभन्दा लामो सुरुङमार्ग पनि हो।

दोस्रोमा धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७० किमि) र लेनडाडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४०० किमि) गरि दुई वटा सुरुङमार्ग पुल र सडकको सेक्सन पनि छ। तीनवटै गरि करिब ६.०७ किमि सुरुङमार्ग पूरै मकवानपुर जिल्लामा निर्माण हुनेछ।

सेनाका अनुसार आगामी साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का निकालिएको छ। हजार किमिभन्दा बढी सडक र सयौं साना(ठुला पुलहरू निर्माण गरिसकेको भए पनि सुरुङमार्ग बनाएको अनुभव नेपाली सेनासँग छैन। सोही कारण पर्याप्त तयारी गर्दा ठेक्का निकाल्न समय लागेको सेनाले जनाएको छ।

उक्त टेण्डरमा इच्छुक निर्माण कम्पनीले ४५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदनको समय सकिएपछि मूल्यांकन हुनेछ। त्यसपछि मूल्यांकन सकेर निर्माणको जिम्मा दिने तयारीमा सेना छ। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्नु पर्नेछ। यस्तो मोडलमा निर्माण गर्दा प्लानिङ, डिजाइन, निर्माण र कमिसनिङ निर्माण कम्पनी आफैंले गर्नु पर्नेछ। साथै पर्फरमेन्स बेसका आधारमा ठेक्का लगाउन लागिएकाले निर्माण सकेको पाँच वर्षसम्म सुरुङमार्ग ठेकेदारकै जिम्मामा हुनेछ।

सुरुङमार्ग निर्माण सकिएपछि एक वर्ष डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी) हुनेछ। उक्त अवधिमा बिग्रे–भत्केको मर्मतको जिम्मेवारी निर्माण कम्पनीमा रहने छ। बाँकी चार वर्ष मेन्टेनेन्सको पिरियड हुन्छ। एक वर्षको सबै जिम्मा निर्माण कम्पनीको हुने भए पनि बाँकी चार वर्षका लागि आवश्यक सामान्य मेन्टेनको बजेट आयोजनाले दिनेछ।