Banking Khabar
अर्थतन्त्र

नक्कली बिल प्रयोग गर्ने ११ फर्मविरुद्ध मुद्दा दायर

shilalekha
shilalekha
प्रकाशित: February 16, 2021
February 16, 2021
सेयर:

काठमाडौं । नक्कली बिल विजक प्रयोग गरी कर छली गर्ने ११ फर्मका १३ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले ९१ करोड रुपैयाँ विगो दावी सहित मुद्दा दर्ता गरेको छ ।

विभागले ती फर्महरु विरुद्ध ९१ करोड ३० लाख ५६ हजार ५११ रुपैयाँ बराबरको विगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

विभागले ११ वटा फर्महरुले बैंक खाता सञ्चालक सर्लाली जिल्ला बलरा नगरपालिका वडा नम्बर ७ बस्ने मुख्य अभियुक्त सुवोध शाहसहित १० जना र ३ जना मतियारविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरु विरुद्ध विगो दावीसहित कैद सजाय माग गरिएको छ ।

उनीहरुले एसबीके इन्टरनेशनल, डाइनामिक इन्टरनेशनल प्रालि, एनएस एक्टिभ इन्टरनेशनल प्रालि, क्राउन इन्टरनेशनल सप्लायर्स प्रालि, मनरेगा सप्लायर्स, यूनियन इम्पेक्स, मेगा राइज इन्टरनेशनल ट्रेड प्रालि, सन साइन प्रोलिंक प्रालि, सीबीएस इन्टरनेशनल सप्लायर्स प्रालि, टिटानियम सप्लायर्स प्रालि र रेन्बो एक्टिभ सप्लायर्स प्रालि फर्मका नाममा नक्कली भ्याट बिल जारी गरेर कर छली गरेको आरोप छ ।

शाहसहित अन्य प्रतिवादीमा सुरेन्द्र सहनी, सरोज कुमार मिश्र, कलिम अंसारी, अवधेश पटेल, सुमन कुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनी समेतको मिलेमतोमा देहायका फर्महरु खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु।अ। कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागको भनाइ छ ।

साथै लेखापरक्षण कार्यमा कागजातहरू तयार गरी झुठ्ठा तथा नक्कली कर विजकको कारोवार एवं लेखा परीक्षण प्रतिवेदन तयार तथा लेखा परीक्षण गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षकहरु कृष्ण प्रसाद घिमिरे, दीपक निरौला र दीपक कुमार कोइरालालाई मुख्य प्रतिवादीहरुलाई हुने सजायको आधा सजाय हुन मागदावी लिई मुद्दा दायर गरिएको हो ।