Banking Khabar
अदालत

निर्मला पन्त बलात्कार प्रकरण : प्रमाण नष्ट गरेको अभियोग लागेका एसपी विष्टसहित आठजना प्रहरीले पाए सफाइ

shilalekha
shilalekha
प्रकाशित: July 30, 2020
July 30, 2020
सेयर:

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको अभियोग लागेका आठजना प्रहरीले सफाइ पाएका छन्।

जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक एसपी दिल्लीराज विष्ट (हाल बर्खास्त) सहित आरोपित आठ प्रहरी अधिकृत तथा कर्मचारीलाई सफाइ दिएको हो । जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले निर्मला हत्या प्रकरणमा उनीहरुले सम्बन्धित प्रमाणहरु नष्ट नगरेको देखिएकाले निर्दोष ठहर गरेको हो।

‘यातनाविरुद्धको कसुरमा दिएको मुद्दा मृतकको शरिरमा घाउ चोट पटक, यातनाको संकेत नदेखिएको र स्वास्थ्य परीक्षण रिपोर्टमा समेत सो कुरा उल्लेख नगरिएकाले सफाइ पाएका हुन्,’ अदालतका श्रेस्तेदार शर्माले भने, ‘सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दामा प्रमाण लोप, नास गर्ने कारण नभएको र प्रमाण लोप हुने कारण नभएकाले सफाइ दिइएको छ।’उनीहलाई यातना र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। २०७५ साउन १० गते पन्तको बलात्कारपछि हत्या भएको थियो।
तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट, तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक एकिन्द्र खड्का, तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरिसिंह धामी र रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध २०७५ फागुन २३ मा मुद्दा दायर भएको थियो ।

मुद्दा दर्ता भएका मध्ये प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक भट्टलाई सरकारले सेवाबाटै बर्खास्त गरेको छ भने अन्य छ प्रहरी कर्मचारी निलम्बन परेका छन् । अदालतमा सो मुद्दामा थुनचेक बहस हुँदा प्रहरी कर्मचारीहरु धरौटीमा रिहा भएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदनमा औँल्याइएको थियो । घटनामा संलग्न मुख्य अभियुक्तलाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।