Banking Khabar
खेलकुद

मेयर्स कप: बागमतीको रोमाञ्चक जित

shilalekha
shilalekha
प्रकाशित: March 11, 2021
March 11, 2021
सेयर:

काठमाडौं । बागमती प्रदेशले काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा विजयी भएको छ।

बिहीबार भएको खेलमा बागमतीले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १० रनले हराएको हो।

टियु क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मी ४७।१ ओभरमा अलआउट हुँदै २ सय ५६ रनमा समेटियो।

उसका लागि कप्तान विनोद भण्डारीले शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्।

९६ बलमा शतक पूरा गरेका विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्कासहित १ सय १९ रन बनाए।

यस्तै, लोकेश बमले ४६, करण केसीले २४ रोहितकुमार पौडेल १५ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा आरियो पौडेलले एक्लैले पाँच विकेट लिए।

यस्तै, रामनरेश गिरिले २, पारस खड्का, सानु देवकोटा र नन्दन यादवले एक–एक विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९।४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६६ रन बनायो।

उसका लागि पारस खड्काले शतकीय पारी खेले। उनले १ सय ३३ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक १ सय १९ रन बनाए।

यस्तै, नन्दन यादवले अविजित ४२, इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बाँस्कोटाले १२ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा सोमपाल कामीले शानदार बलिङ गरे। १० ओभरमा ६५ रन खर्चिएर एक्लैले पाँच विकेट लिए। यस्तै, विक्रम सोब, जितेन्द्र मुखिया, शाहव आलम र करण केसीले एक–एक विकेट हात पारे।