राइट टु प्रोटिन रन हाफ म्याराथनको तयारी अन्तिम चरणमा, ८ हजार बढीको सहभागिता हुने

0
07r8H7rc

काठमाडौं । राइट टु प्रोटिन रन हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा चौथो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथन यही शनिवार (माघ १२) गते हुनेछ।
हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट बिहान ६:३० बजे सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ ।राइट टु प्रोटिन म्याराथनमा करिब ८ हजार संख्यामा सहभागिता रहने आयोजकको दावी छ ।

हाफ म्याराथनमा महिलार पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको ५ किलोमिटर पुरुष र ३ किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने छ ।

सहभागिता र पुरस्कार राशिका हिसाबमा यो प्रतिस्पर्धा नेपालकै सबभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक सितलकाजी श्रेष्ठले बताए । आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ ।

हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले १ लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।१० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

महिलामा ५ किलोमिटरको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

गत संस्करणको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए ।पछिल्ला तीन संस्करणमध्ये दुई वटामा सहभागी हुँदा सन्तोषी च्याम्पियन भएकी थिइन् ।

विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियर तर्फ महिला र पुरुषको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ पाउनेछन् छ ।

प्रतियोगितामा खेलाडीहरूको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक संयोजक श्रेष्ठले जानकारी दिए ।

यस प्रतियोगिताका लागि नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब ५ सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ ।
एथलेटिक्स संघका सचिव आरके विष्टले रनको रुट र प्राविधिक व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुने जानकारी दिए।

रनको ब्रान्ड एम्बेसडर रहेका कलाकार सरोज खनालले राष्ट्रका लागि नागरिक स्वस्थ हुन आवाश्यक हुने भएकोले जनचेतना जगाउने उद्देश्यका साथ राइट टु प्रोटिन रनको आयोजना भइरहेको बताए ।

नेपाल दाना उद्योग संघ रविन पुरीले मानिसका लागि प्रोटिन कति महत्वपूर्ण छ भन्ने जानकारी दिने उद्देश्यले दौडलाई माध्यम बनाइएको बताए।

प्रतियोगितालाई युसेकको मुख्य प्रायोजन, पशु सेवा विभाग र नेपाल दाना उद्योग संघको विशेष सहयोग रहेको बताइएको छ।

हस्पिटल पार्टनर प्रिमेरा हस्पिटल, टिकेटिङ पार्टनर इसेवा, फुड पार्टनर केबी एग्रो, हस्पिटालिटी पार्टनर होटल काठमाडौं मेरियट र फेयरफिल्ड बाइ मेरियट रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed