Banking Khabar
ब्यानर न्युज

‘अविश्वास प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलाफमा कांग्रेसको भोट जान्छ’:रामचन्द्र पौडेल

shilalekha
shilalekha
प्रकाशित: January 23, 2021
January 23, 2021
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभामा वर्तमान सत्ताका विरुद्ध उभिने घोषणा गरेका छन् ।

शनिबार विराटनगर एयरपोर्टमा आयोजित पत्रकार सम्मेनलमा पौडेलले केन्द्रदेखि प्रदेशसम्म कांग्रेस प्रतिपक्षमा रहेको भन्दै प्रतिपक्षले आफ्नो धर्म निर्वाह गर्ने बताएका हुन् । ‘‘हामी त केन्द्रमा पनि स्याडो गभर्मेन्ट बनाएर बसेका छौँ, यहाँ पनि प्रतिपक्षी हौँ,’ उनले भने, ‘‘प्रतिपक्षको धर्म के हो, हामी प्रतिपक्षको धर्म निभाउँछौँ ।’’

््उनले वर्तमान सत्ताविरुद्ध उभिने प्रतिपक्षको धर्म भएको भन्दै सरकारमा जानेरनजाने विषयमा त्यसपछि मात्र निर्णय हुने बताए । ‘‘सरकारमा जानेरनजाने पछिको कुरा हो, अविश्वास प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलाफमा हाम्रो भोट जान्छ,’’ पौडेलले भने ।

नेपाली कांग्रेसमा यसअघि प्रदेश नम्बर–१ र वाग्मती प्रदेशमा कस्तो भूमिका खेल्ने भन्ने विषयमा भएका दुईवटै छलफल विनासहमति टुंगिएका थिए । गएको बुधबारको बैठकमा सभापति शेरबहादुर देउवाले ‘जोसँग मिल्दा मुख्यमन्त्री पाइन्छ, त्यतै मिल्नुपर्छ’भन्दा पौडेलले प्रतिवाद गरेका थिए ।

‘‘एकातिर तिनै ओलीको कदमविरुद्ध असंवैधानिक भन्दै आन्दोलन गर्ने अर्कातिर तिनै ओलीसँग मिलेर सरकार बनाउने कुरा राजनीतिक र नैतिक दुवै हिसाबले मिल्दैन’’ भन्दै पौडेल प्रतिवादमा उत्रिएपछि सभापति देउवाले प्रदेशका संसदीय दलका नेता राखेर निर्णय गर्ने भन्दै बैठक स्थगित गरेका थिए ।

तर, शनिबार विराटनगरमा पौडेलले वर्तमान सत्ताका विरुद्ध उभिने घोषणा गरेपछि त्यो कांग्रेसको निर्णय हो वा पौडेल समूहको मात्र भनेर प्रश्न उठेको छ । सत्ता सहकार्य र प्रधानमन्त्रीको निर्णयका विषयमा कांग्रेस निर्णयका आधारमा एकसाथ देखिए पनि नेताहरुका अभिव्यक्तिका आधारमा विभाजित देखिएको छ ।
अभिव्यक्तिका आधारमा सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट देखिएका छन् भने वरिष्ठ नेता पौडेल त्यसका विरुद्धमा अडान लिइरहेका छन् ।