Banking Khabar
ब्यानर न्युज

खुकुलो भएको उपत्यकाको निषेधाज्ञामा होटल,रेष्टुरेन्ट पूर्ण रुपमा प्रतिबन्ध,शैक्षिक संस्था अझै खुल्ने छैनन् !

प्रकाशित: September 9, 2020
September 9, 2020
सेयर:

काठमाडौं ।  उपत्यकामा बिहीबारदेखि ‘निषेधाज्ञा खुकुलो ’ पारी निशेधाज्ञा लागू गरिँदैछ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले निषेधाज्ञा खुकुलो पार्दै केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार होटल, रेष्टुरेन्ट र बार पूर्ण रुपमा खोल्न पाइने छैन। शैक्षिक संस्था चल्ने छैनन्। खुल्ला स्थानमा सभा, जुलुश, जात्रा महोत्सव आयोजना गर्न पाइनेछैन् । भने मठ,मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका अन्य काम गर्न पाइने छैन।

शैलुन, स्पा, ब्युटी पार्लर खुल्ने छैनन्। चिडियाखाना तथा प्रदर्शनीहरू बन्दै रहने छ। उद्योग र कलकारखाना चल्न दिइनेछ तर, स्वास्थ्य मापदण्डविपरीत चलाउन पाइँदैन। श्रमिक मजदुरलाई सामाजिक दूरी कायम नगरीकन ओसारपसार गर्न पाइने छैन। यस्तै चाडपर्वमा हुने जमघट हुन दिइँदैन।

निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन भने पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म तोकिएको थियो।

निषेधाज्ञा निरन्तर भइरहँदा आर्थिक गतिविधिहरू ठप्प भएपछि प्रशासन लचिलो भएको प्रजिअ दाहालले बताउनभयो । यसअघि मंगलबार सरोकारवाला सबै पक्षसँग छलफल गर्दा पनि चाडबाड नजिकिएका कारण आर्थिक गतिविधिहरू हुनुपर्ने राय पेश भएको थियो।

दाहालका अनुसार ‘संक्रमणको अवस्थालाई मध्यनजर गरेर निषेधाज्ञा क्रमश हटाउने वा जारी राख्ने निर्णय हुने बताउनुभयो ।