Banking Khabar
मुख्य समाचार

बूढीगण्डकी भ्रष्टाचारमा सभापति देउवाको संलग्नता पुष्टि गर्न बाबुरामलाई कांग्रेसको चुनौती

shilalekha
shilalekha
प्रकाशित: October 11, 2020
October 11, 2020
सेयर:

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भ्रष्टाचारमा कांग्रेस संलग्नताको आरोप प्रमाणित गर्न चुनौती दिएको छ ।
आइतबार पार्टीका प्रवक्ता विश्वप्रका शर्माले प्रेस विज्ञप्ति जारी गर्दै बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भ्रष्टाचारमा सभापति शेरबहादुर देउवालाई मुछेको भन्दै आपत्ति जनाएको हो । कांग्रेसले उक्त परियोजनामा भएको भ्रष्टाचारको गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह पनि गरेको छ ।

गत बिहीबार जनता समाजवादी पार्टीका नेता समेत रहनुभएका भट्टराईले गृहजिल्ला गोरखा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्नुभएको थियो । कांग्रेसले उहाँको उक्त अभिव्यक्तिलाई ‘सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा परेका’ समेत भनेर टिप्पणी गरेको छ ।

प्रवक्ता शर्माले भट्टराईको उक्त हलुका टिप्पणीहरुलाई प्रष्टिकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा नभएको तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म संग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु पार्टीको कर्तव्य भएको प्रष्टिकरण समेत दिनुभएको छ ।

कांग्रेसले केपी ओली नेतृत्वको सरकार गठन पछि बूढीगण्डकी परियोजनाको जिम्मा विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणमा सार्वजनिक रूपमा कांग्रेसले निरन्तर रुपले कडा विरोध गर्दै आएको स्मरण पनि गराएको छ ।