पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा भारी मात्रामा सुरक्षाकर्मी कटौती,अंग रक्षकमा अव प्रहरी पनि परिचालन हुने

0
gyanendra-1

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा भारी कटौती गरेको छ।

गृह मन्त्रालयका अनुसार अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधि संशोधन गरी पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गरी फिर्ता बोलाएको हो । ज्ञानेन्द्रको सुरक्षामा शसस्त्र प्रहरी बल एपिएफ परिचालन हुँदै आएको थियो।

एपीएफका प्रवक्ता राजु अर्यालले बिहीबारदेखि ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका ५४ जना सुरक्षाकर्मीलाई र्फिता बोलाउन थालिएको बताए । अब ज्ञानेन्द्र तथा उनको परिवारको सुरक्षामा एपिएफका १६ सुरक्षाकर्मी मात्र रहने बताए। नागार्जुन र निर्मल निवास दुवैमा सुरक्षा बेस रहँदै आएको थियो। यसअघि पछुवा गाडी र सुरक्षा बेससमेत गरेर एपिएफका ७० जनाभन्दा बढी सुरक्षाकर्मी पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारको सुरक्षामा खटिँदै आएको थिए । अब सुरक्षा बेस हटाइने छ। नजिकै रहेर सुरक्षा दिने सुरक्षाकर्मी मात्र सीमित रााखिएको गृह मन्त्रालयले जनाएको छ।

एपिएफ हेडक्वार्टरका अनुसार पूर्व राज परिवारका लागि ३० जना सुरक्षाकर्मी पछुवा गाडीका रुपमा प्रयोग हुँदै आएका थिए। सशस्त्रले हाल भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रको साथमा रहेका २२ जना सुरक्षाकर्मी उनी काठमाडौँ फर्किएलगत्तै फिर्ता बोलाउन‍े जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर सिंहले मन्त्रिपरिषदबाट गत मंसिरमै अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधि संशोधन भएपनि सुरक्षा निकायलाई ताकेता गरेपछि हालसालैबाट कार्यान्वयनमा आउन सुरु गरेको बताए। गृह मन्त्रालयले अब पूर्वराजाको अंग रक्षकका रुपमा प्रहरी पनि परिचालन हुने जनाएको छ।

गृह मन्त्रालयका अनुसार पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीलगायतले प्रयोग गर्दै आएको सुरक्षाकर्मीको संख्यामा पनि भारी कटौती गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed