‘मेरो ज्यान तलमाथि भैहाल्यो भनेपनि कुनै अनौठो नमान्नुहोला’ :प्रधानमन्त्री ओली

0
kp woliii pokhara

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् ।

सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको भन्दै ओलीले आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताएका हुन् ।

सोमबार पोखरामा आयोजित नेकपा ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘यस पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ’, ओलीले भने, ‘तपाईंहरु अनौठो नमान्नु होला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’

उनले आफू नरहेपनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए । ‘म नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed