Banking Khabar
कला-साहित्य

कविता : यस्तो कहिल्यै लागेको थिएन

प्रकाशित: July 21, 2020
July 21, 2020
सेयर:

यस्तो कहिल्यै लागेको थिएन
कुनैदिन
यसरी दिउँसै निदाउनेछ
एकाएक यो सहर

घरभित्रै हराउनेछ घर
मनभित्रै हराउनेछ मन
आफ्नै आँशु पुछिदिन बढेका हातहरुसँगै
डराउनेछ आफ्नै आँखा
आफ्नै प्राण बचाउन बहेका हवा लिन
डराउनेछ फोक्सो
यति दुर्लभ हुनेछ
प्रियसीको एउटा अंगालो

यति टाढा हुनेछ
आफ्ने छिमेकीको आँगन
फेरी कहिल्यै नभेटिने गरी बढ्नेछ
म र मेरो देश बीचको दुरी
यस्तो कहिल्यै लागेको थिएन ।

यस्तो कहिल्यै लागेको थिएन
यसरी गाडीबिनै कुद्नेछन्
सुनसान सडकहरु
मान्छेलाई कोठाभित्रै थुनेर
जेल बन्नेछन् घरहरु
आफ्नै टेलिभिजन
निरन्तर गाउनेछ मृत्युको गीत
कुनै तपस्वीको गुफा जस्तै बन्नेछन्
आफ्नै घरको कोठा
सहरभरी जताततै गुन्जिनेछ
एम्बुलेन्सका कर्कस साईरनहरु
यस्तोकहिल्यै लागेको थिएन ।

यस्तो कहिल्यै लागेको थिएन
यसरी निहत्था मसँग डराउनेछन्
मेरै दुश्मनहरु
मेरा लागि बन्द हुनेछन्
मेरै आफन्तहरुको दैलो
युध्दभूमि जस्तै बन्नेछन् अस्पतालहरु
अस्पतालको बेडमा पड्किनेछ
मृत्युको बारुद
बिरामीसँगै ढल्नेछन् डाक्टर नर्सहरु
मृत्युको शवयात्रामा आइपुग्नेछन्
सेना र पुलिसका बख्तरबन्द गाडीहरु
यस्तो कहिल्यै लागेको थिएन ।

यस्तो कहिल्यै लागेको थिएन
हिउँ जस्तै कपाल फुलाएर
छोरा आउने बाटोमा आँखा ओच्छ्याई बसेकी
मेरी बुढी आमाको सपना टुट्नेछ
दिलमा अमेरिकाको फोटो खिचेर बसेकी
मेरी प्रिय गौरीको मन भाचिनेछ
मेरा पाइतालाका अनगिन्ति डोबहरु कोरिएको
मेरो माटो कहिल्यै नभेटिने गरी टाढिनेछ

यस्तो कहिल्यै लागेको थिएन
कुनै दिन गुमनाम पुरिनेछु म
यो पराई माटोमा
मसँगै हराउनेछ मेरा तमाम सपनाहरु
म यसरी हराउनेछु
जहा मलाई चिन्ने कोही हुनेछैन
मेरा आफन्तहरुलेमेरो मुहार हेरेर
एक थुङ्गा फुल चढाउन पाउने छैनन्
म यो लोकबाट धेरै टाढा पुगिसकेको हुनेछु
यस्तो कहिल्यै लागेको थिएन
यस्तो कहिल्यै लागेको थिएन ।