Banking Khabar
ब्यानर न्युज

आफ्नै पार्टीका नेतालाई गगनको व्यगं: अदालतबारे बोल्दैनौं भन्नेहरु कायर हुन् !

shilalekha
shilalekha
प्रकाशित: January 29, 2021
January 29, 2021
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले  अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्ने पार्टीको निर्णय भएको बताए ।

‘बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो’ उनले अघि भने, ‘पञ्चयतका बेलामा बोलेका बीपीका कार्यकर्ता आज रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्छन् भने ती कायर हुन् ।’

अदालतमा विचाराधीन भएको मुद्धामा कांग्रेस बोलेर पुस ५ गतेको संसद विघटन असंवैधानिक हो भनिसकेको उनले बताए । थापाले अघि भने, ‘अब अदालतले यो भन्दा दायाँ बायाँ फैसला गर्दैन भन्ने हाम्रो विश्वास छ, गर्न सक्दैन र मिल्दैन पनि ।’

पहिलो संविधानसभामा अदालतलाई संसदको एउटा समिति माताहत राख्ने प्रस्ताव आउँदा आफूहरु अदालतको स्वतन्त्रताको पक्षमा उभिएको उनले स्मरण गरे । ‘संसदले अदालतको सम्मान राख्यो, अब हामी चाहन्छौं, अदालतले संसदको सम्मान राखोस्’ थापाले भने, ‘हामी श्रीमानहरुलाई भन्न चाहन्छौं, तपाईहरु संविधान पल्टाएर हेरिराख्नु भएको छ, अक्षरहरु पढिराख्नु भएको, हेर्ने त्यही हो । तर संविधानका धाराहरु शून्यबाट आएका होइनन् ।’

आफू दुबै संविधानसभाको सदस्य भएको उल्लेख गर्दै उनले नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नगरेको बताए । बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भन्ने के गर्ने भन्ने चिन्ता बेलाबेला अदालतमा व्यक्त हुने गरेको भन्दै थापाले भने, ‘खरुक घर जाने, घर बस्न नगए, वन जाने । त्यो भन्दा अर्को बाटो संविधानमा छैन ।’

‘यदि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने लेख्नुपर्छ भन्ने लागेको भए २०४७ को संविधानको धारा ५३ मा जस्तो लेखिहाल्थ्यौं’ उनले अघि भने, ‘यति प्रष्ट हुँदाहुँदै संविधानको व्याख्या तलमाथि हुन्छ भने प्रश्न उठ्छ श्रीमान् ।’

यदि अहिलेको संसद विघटन सदर हुने हो भने निर्वाचनको अपमान हुने थापाले बताए ।