Banking Khabar
ब्यानर न्युज

एकै दिनमा फेरे ओलीले बोली,‘गद्दार’ घोषणा गरेका माधव नेपाललाई आममाफी दिने !

प्रकाशित: July 22, 2021
July 22, 2021
सेयर:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका र भड्किएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् ।

नेकपा संस्थापक नेता पुस्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सबैलाई माफी दिएको घोषणा गरेका हुन्। उनले भने, ‘ बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

झण्डै एक घण्टा लामो सम्बोधन गरेका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताए । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उनले भने, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’

‘हामी हाम्रै पार्टीभित्रको कलहले गर्दा कम्युनिष्ट आन्दोलनमा धक्का लागेको छ, आफ्नै पार्टीको सरकार ढलेको छ,’ उनले भने, हामी परमादेशबाट जानुपरेको छ, जनादेशबाट होइन।’

ओलीले बुधबार नै २२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। तर, बिहीबार भने उनले सबैलाई माफी दिने घोषणा गरेका थिए।
बुधबार मात्रै ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका थिए।