एसिड आक्रमणका दोषीहरुलाई कडा कारवाही गर्न सरकारद्वारा अध्यादेश जारी

0
Bidya-Devi-Bhandari

 

काठमाडौँ । एसिड आक्रमणका दोषीहरुलाई कडा कारवाही गर्ने व्यवस्था सहितको कानूनी व्यवस्था गर्न सरकारले अध्यादेश जारी गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्याविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको हो ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ हो भने फौजदारी कसूर तथा फैजारी कार्यविधि सम्बन्धि ऐन संशोधन गर्ने अध्यादेश हो। गत विहीबारको मन्त्रिपरिषदको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपति समक्ष पठाएको थियो।

अध्यादेश जारी भएपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले एसिड आक्रमणकारीलाई कुनै पनि अवस्थामा छुट नहुने व्यवस्था गरिएको बताउनुभयो ।

कानूनमा आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने उहाँको भनाइ छ। । कसैले एक थोपा एसिड मात्रै छ्यापेपनि कडा कारवाही हुने उहाँको भनाइ छ।

कुनै पनि महिला वा पुरुषमाथि हुने तेजाब आक्रमणलाई न्यूनीकरण गर्न कानून ल्याइएको उल्लेख गर्दै उनले तेजाव आक्रमण गरेको अवस्थामा जहिले सुकैपनि उजुरी दिन सक्ने प्रावधान रहेको बताउनुभयो ।
आक्रमणमा परेपछि जुनसुकै मितिमा उजुरी दिएपनि त्यो मुद्दालाई प्राथमिकताका आधारमा सुनुवाई गर्ने व्यवस्था गरिएको मन्त्री तुम्बाहाङ्फेले बताउनुभएको छ ।

उहाँले अध्यादेश मार्फत बाहिरबाट तेजाब ल्याउन पनि कडा व्यवस्था गरिएको बताउनुभएको छ । तेजाब आक्रमणको सन्दर्भमा मुद्दा परेपछि फिर्ता नहुने प्रावधान राखिएको उहाँको भनाई छ।

तेजाबसम्बन्धी कसुरमा २० वर्षसम्म सजाय र दश लाख रुपैयाँसम्म जरिबाना तोकिएको छ।

आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ।तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्‍याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ। शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने छ।

तेजाब विक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिएर मात्र बिक्री वितरण गर्न पाइने र वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक, नवीकरण गर्नुपर्ने नयाँ कानूनमा व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed