चौतर्फी विरोधपछि काँकडभिट्टा–इनरुवा रेलमार्गको खण्डको ठेक्का रद्द

0
rail12-768x430-1

काठमाडौं । चौतर्फी विरोधपछि रेल विभागले पूर्व पश्चिम रेलमार्ग अन्तर्गत इनरुवा काँकडभिट्टा खण्डको ट्याकबेड निर्माणका लागि लगाएको ५४ वटा ठेक्का रद्द गरेको छ।
विभागको रेल, मेट्रोरेल तथा मोनोरेल विकास परियोजनाले मंगलबार सार्वजनिक सूचना जारी गरी यो ठेक्काको प्रकृया रद्द गरेको जनाएको छ। विभागले असार १४ मा ३० वटा र १७ गते २४ वटा ठेक्काका लागि सूचना निकालेको थियो। काकडभिट्टादेखि इनरुवासम्म १०६ किलोमिटर खण्डमा रेल्वे ट्रयाक बनाउन ठेक्का आव्हान गरिएको थियो।
निश्चित ठेकेदारले मात्र पाउने गरि सेटिङमा ठेक्का लगाइएको, रेलमार्गमा पर्ने जग्गाको मुआब्जा विवादसमेत नसुल्झिएको भन्दै उक्त ठेक्का प्रक्रियाको चौतर्फी विरोध भएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रेलमार्ग निर्माणको ठेक्का प्रक्रिया मिलेमतोमा सिमित ठेकेदार कम्पनिलाई पार्ने गरि काम भएको भन्दै रद्द गर्न माग गरेको थियो।
रेल्वे ट्रयाक बेड निर्माणकै अनुभव भएको कम्पनीले मात्र भाग लिन पाउने व्यवस्थासहितको ठेक्का आह्वान भएपछि यसमा सीमित प्रतिस्पर्धा गरिएको भनी निर्माण व्यवसायीहरूले विरोध गर्दै आएका थिए। यो ठेक्काविरुद्ध केही निर्माण व्यवसायीले उच्च अदालत पाटनमा ठेक्का रोक्न मुद्दासमेत हालेका थिए । तर उच्चले भने ठेक्का प्रक्रिया रोक्न आदेश दिनुको सट्टा अघि बढाउन सक्ने फैसला गरेको थियो।

पूर्व–पश्चिम रेलमार्गअन्तर्गत रेल्वे ट्रयाकबेड लिक बिछ्याउने ट्रयाक बनाउन रेल विभागले ३३ अर्ब ३४ करोडको ठेक्का आह्वान गरेको थियो।
ठेक्काको प्रकृया अघि बढाउँदा थप विवाद बढ्न सक्ने देखेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको निर्देशनअनुसार यो ठेक्का रद्द गरिएको हो । ठेक्काको काम अघि बढाउने मनस्थितिमा रहेको मन्त्रालय चौतर्फी विरोधपछि प्रकृया स्थगित गर्ने निर्णयमा पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed