नौ महिनाअघि फेसबुकमा महेश बस्नेतलाई टिप्पणी गरकै भरमा अहिले साइबर क्राइममा पक्राउ

0
nepali-congress logo

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्य डिल्लीबहादुर चन्दलाई नेपालगञ्‍जमा गिरफ्तार गरेर काठमाडौँ ल्याएको घटनाप्रति विरोध जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर चन्‍दलाई तत्काल रिहाइ गर्न पनि माग गर्नुभएको छ । बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिका १८ निवासी चन्दलाई पुस १४ गते राति गोर्खाज फाइनान्सको कार्यालयमा डिउटीमा रहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो ।

चन्दलाई गत बैशाखमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपा ओली समूहका नेता महेश बस्नेतको सांसद अपहरणसम्बन्धी घटनासम्बन्धमा सामाजिक सञ्‍जल फेसबुकमा लेखेकै आधारमा पक्राउ गरेर काठमाडौं ल्याइएको हो । उक्‍त घटनाप्रति कांग्रेसले विरोध जनाएको हो ।

‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु,सांसद अपहरणको अभियोग लाग्‍नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरूले घटनाको विरोध गरेर सामाजिक सञ्‍जालमा लेखेकै हुन्,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै व्यवस्था छ । तर त्यो कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो ।’

गोर्खाज फाइनान्समा सुरक्षा गार्डका रूपमा काम गरेर परिवार पालिरहेका चन्दलाई सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बांचेको नागरिकमाथि देखाउन खोजेको तुजुक निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाली कांग्रेस नागरिकप्रतिको यो ब्यवहार सच्याउन चेतावनी दिंदै चन्दलाई तत्काल रिहाई गर्न माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed