Banking Khabar
ब्यानर न्युज

बाध्य भएर एमाले पुनर्गठन गर्दै एकीकृत समाजवादी गठन गरेका हौं: माधव नेपाल

shilalekha
shilalekha
प्रकाशित: August 20, 2021
August 20, 2021
सेयर:

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पुनर्गठन गर्दै नयाँ पार्टी गठन गरेको बताएका छन्।

नेकपा एकीकृत समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि शुक्रबार अपरान्ह अध्यक्ष नेपालले पार्टी एकताका सबै ढोका बन्द भएपछि बाध्य भएर नयाँ दल गठन गर्नुपरेको उल्लेख गरेका छन्।

‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका छौं,’ उनले फेसबुकमार्फत् जारी गरेको धारणामा उल्लेख छ।

उनले जनताबाट सकरात्मक सहयोगको अपेक्षा पनि गरेका छन्। ‘नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत् चाहेको संस्कृति एवं समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकरात्मक सहयोगको अपेक्षा गर्दछौं,’ उनले भनेका छन्।

उनले हाललाई नयाँ दलमा साविक नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेकाहरू, विद्रोहका पक्षमा हस्ताक्षर गर्नेहरू र २०७५ जेठ ३ गते पार्टी एकता गर्ने बेला आफ्नो तर्फबाट थपिएकाहरूलाई मात्र समावेश गरिएकोमा अब थप केन्द्रीय सदस्य बनाउने पनि बताएका छन्।

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य ९५ सदस्यीय प्रस्ताव छ। राष्ट्रिय भेला तथा सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने अध्यक्ष नेपाल बताउँछन्।

‘अहिले समावेश गर्न नसकेका अनुभवी एवं योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौं,’ उनले भनेका छन्।