Banking Khabar
ब्यानर न्युज

बुद्ध नेपालमा जन्मेका हुन कि होइनन् भनेर बहस गर्नु जरुरी छैन : परराष्ट्र मन्त्रालय

प्रकाशित: August 9, 2020
August 9, 2020
सेयर:

काठमाडौं । गौतम बुद्ध भारतमा जन्मेका भन्ने भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिको परराष्ट्र मन्त्रालयले खण्डन गरेको छ।

मन्त्रालयले आइतबार एक विज्ञप्ती निकाल्दै ऐतिहासिक र पुरातात्विक प्रमाणले गौतम बुद्ध नेपालमा जन्मेको पुष्टि गरेको भन्दै यसमा कुनै द्विविधा नरहेको उल्लेख गरेको छ। परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ऐतिहासिक र पुरातत्विक प्रमाणहरूबाट यो एउटा स्थापित सत्य र स्वीकार भएको छ कि गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन्। लुम्बिनी गौतम बुद्धको जन्मस्थल र बुद्ध धर्मको उद्गमस्थल पनि हो। यो युनेस्कोको विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ ।

परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल शान्ति भूमि भएको र बुद्ध नेपालमै जन्मेको उल्लेख गरेको विज्ञप्तिमा भनिएको छ। बुद्ध धर्म नेपालबाट विश्वभर फैलिएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ। बुद्ध नेपालमा जन्मिएको विषय बहसको विषय हुन नसक्ने पनि परराष्ट्रले भनेको छ।

विश्व समुदाय नै यो विषयमा सचेत रहेको परराष्ट्रको विज्ञप्तिमा भनिएको छ। भारतीय विदेशमन्त्री जयशंकरले केही दिनअघि गौतम बुद्ध र महात्मा गान्धी भारतमा जन्मेका ठूला व्यक्तित्व भएको बताउनुभएको थियो ।