सरकारको आग्रह बेवास्ता गर्दै शिक्षकले आन्दोलन जारी राख्ने

0
teacher aldodaln

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिने भएको छ । आन्दोलन स्थगित गरेर कार्य क्षेत्रमा फर्किन सरकारले गरेको आग्रह बेवास्ता गर्दै महासंघले आन्दोलन जारी राख्ने भएको हो ।  महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिए ।

सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसद्‌मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोकेर कार्य क्षेत्रमा फर्किन आग्रह गरेको थियो ।

तर, महासंघले आफूहरूले उठाएका विषयमा राज्य अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने भएको हो । ‘हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ बढी प्रतिवद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन । देश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईँलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं,’ अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।’

बुधबार पनि नियमित झैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन् । अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचारप्रति सचेत रहन उनले शिक्षकहरूलाई आग्रह गरेका छन् ।

यसैगरी, नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले सरकारले जारी शिक्षक आन्दोलनलाई कमजोर बनाउन लागेको बताएकी छन् । पराजुलीले सामाजिक सञ्जालमा भनेकी छन्,‘आदरणीय शिक्षक कर्मचारी साथीहरू, झुट्टा हल्लाकोपछि नलाग्न सबैमा अनुरोध । नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीचमा गत २०८० असोज ५ र १२ गते सम्पन्न सम्झौता बमोजिम मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्नुपर्ने माग मुद्दाहरूलाई बेवास्ता गर्दै ऐतिहासिक शिक्षक आन्दोलनलाई कमजोर बनाई प्रतिगामी शिक्षा ऐन जारी गरी नेपालको सार्वजनिक शिक्षालाई पूर्ण रूपमा ध्वस्त बनाउने कुटिल षड्यन्त्रमा सरकार अगाडि बढिरहेको छ।’

देशभरका शिक्षक १५ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन्। आम शैक्षिक हड्तालसहित उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षासमेत बहिष्कार गरेका छन् । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसमेत प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed