हमासको बन्धकमा परेका विपिन जोशीको मृत्यु, शव नेपाल ल्याउने प्रक्रिया सुरू

0
Bipin_Joshi

काठमाडौं । इजरायल सरकारले नेपाली नागरिक विपिन जोशीको निधन भएको औपचारिक जानकारी दिएको छ।

परराष्ट्र सचिव अमृत बहादुर राई र इजरायलको परराष्ट्र मन्त्रालयका डाइरेक्टर जनरल इडेन बार टालबीच आज अपरान्ह भएको टेलिफोन संवादका क्रममा इजरायली पक्षले जोशीको मृत्युबारे नेपाललाई जानकारी दिएको हो।

मन्त्रालयका अनुसार इजरायली अधिकारी बार टालले इजरायल सरकारको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै जोशीको परिवार, नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले हिजो रेड क्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको थियो। त्यसपश्चात् शवको पहिचान भइसकेको र इजरायलस्थित नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अविवस्थित नेशनल सेन्टर अफ फोरेन्सिक मेडिसिन पुगेर थप पुष्टि गरेको परराष्ट्रले जनाएको छ। राजदूतावासले सम्बन्धित निकायहरूसँग नजिकको समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको छ।

विपिन जोशी सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनी समूह हमासको कब्जामा थिए। उनी इजरायलको लर्न एण्ड अर्न कार्यक्रममा सहभागी विद्यार्थी थिए। उनको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षयता विभिन्न तह र माध्यमबाट निरन्तर प्रयास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ ।

मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिको लागि उचित पहल जारी राख्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed