हामी आफ्नै जिन्दगीको कमैया हौं !

0
143368422_170609111139152_2058152204787587073_n

कविता

हामी कमैया हौं
हो, हामी कमैया नै हौं
काम कैना मनैयाँ, कमैयाँ
अर्थात
काम गर्ने मान्छे, कमैया
त्यसैले, हामी कमैया हौं ।

हामी कमैया भएर उठ्छौं
कमैया भएर बस्छौं, कमैयाँ भएर खान्छौं
र, कमैया भएर सुत्छौं
किन कि, कमैया हाम्रो कला हो
कमैया हाम्रो संस्कृति हो, रहन–सहन हो
र कमैया हाम्रो भाषा हो
त्यसैले हामी कमैया भाषा बोल्छौं ।

हामी कमैया
हाम्रो हाम्रै साँस छ
त्यसैले हामी हाम्रै सास फेर्छौं
हाम्रो हाम्रै ढुकढुकी छ
त्यसै हाम्रो हाम्रै ढुकढुकी चल्छ
र, हाम्रो आफ्नै जिन्दगी छ
त्यसैले हामी हाम्रै जिन्दगी बाँचेका छौं
किन कि,
हाम्रो साँसले कमैयाको भाषा बोल्छ
हाम्रो ढुकढुकी कमैयाकै धड्कनमा चल्छ
त्यसैले हामी कमैया हौं
हामी आफ्नै जिन्दगीको कमैया हौं
त्यसैले हामी कमैया भाषा बोल्छौं ।

कोही सोच्छ हो
कमैयाहरू दास हुन्
कमैयाहरू गुलाम पनि हुन्
हो, हामी दास पनि हौं
गुलाम पनि हौं
तर, हामी मालिकका दास होइनौं
न हौं हामी शासकहरू गुलाम पनि
हामी त खाली
आफ्नै जिनदगीको दास हौं
आफ्नै जिन्दगीको गुलाम पनि हौं
किन कि, हामी हाम्रै जिन्दगी बाँच्नका लागि
माटोमा पसिना चुहाउँछौं
आफ्नै शरिरको रगत बगाउँछौं
हो, यसरी पसिना चुहाउने हामीहरूलाई
शरिरको रगत बगाउने हाम्रा सन्तानहरूलाई
र, हामीले बोल्ने भाषालाई
शासकहरू र शासकका असली गुलामहरूले
कमैया भाषा भन्छन्
त्यसैले जसले जेसुकै भनोस्
हामी कमैयाहरू सगर्व कमैया भाषा बोल्छौं ।

कोही कोही जरूर भन्छ
कमैयाहरू मालिकहरूका गुलाम हुन्
कमैयाहरू शासकहरूका दास हुन्
तर,
छातीमा हात राखेर हेरून्
हाम्रो धड्कनले मालिकहरू बाँचिरहेको
हाम्रै साँसले शासकहरू सास फेरिरहेको
हाम्रै रगत र पसिना चुसेर
शासकहरू छाडा साँढझैं डुक्रिरहेको
र हाम्रै सर्वस्व लुटेर
कुटिल सकुनिहरू पासो थापिरहेको
तर पनि हामी सगर्व
हामी आफ्नै अस्तित्वमा, आफ्नै माटोमा उमिएर
निसंकोच कमैया भाषा बोलिरहेछौं
किन कि, हामी कमैया हौं
हामी कमैया भाषा बोल्छौ ।

हो, हाम्रो सुनौलो भविष्य लुटेर
हाम्रो सर्वस्वहरण र हाम्रो जीवन बन्धकीमा राखेर
हाम्रै साँस र धड्कनमाबाँचिरहेका
मालिक शासक
र शासकहरूका चाटुकारहरूको आँखाले
हामीलाई गुलाम देख्न सक्छ
हामीलाई दास देख्न सक्छ
किन कि, चाटुकार र चम्चाहरूको हातले
सधैं मालिकहरूका गुलामी गर्छ
सधैं शासकहरूका दासी बन्छ ।

हो, हामी कमैया जरूर हौं
हामी लुटिएकाहरू, दमितहरू जरूर हौैं
तर, मालिकहरूको गुलाम होइनौं,
शासकहरूको दास पनि होइनौं
किन कि हामी, हाम्रै अस्तित्वमा छौं
र, हामीसँग हाम्रै स्वत्व छ
यसकारण हामी कमैया हौं
हामीलाई कमैया भाषा बोल्दा आनन्द आउँछ
त्यसैले हामी कमैया भाषा बोल्छौं ।
–छविलाल कोपिला
दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed