निर्वाचन आयोगमाथि देउवाको शंका: ‘जेठसम्म चुनाव गर्नैपर्छ,तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन ?’

0
sher b deuba

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको भूमिकाप्रति आशंका गर्दै निर्वाचनको मिति नजिकिँदा पनि आयोगले कार्यतालिका सार्वजनिक नगर्नु शंकास्पद भएको बताएका छन् ।

कांग्रेस रुपन्देहीले भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘ओलीले संसद विघटन गरेको छ। संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ। तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन ?’जेठको अन्त्यसम्म चुनाव गराउनैपर्ने बाध्यता रहेको दाबी गर्दै देउवाले आयोगले चाँडो कार्यतालिका ल्याउनुपर्ने बताए। ‘जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ। तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन। बदमासी गर्न सक्छ आयोगले,देउवाको प्रश्न थियो, ‘किन बोल्दैन निर्वाचन आयोग ? म यहीबाट भन्न चाहन्छु। ओलीले वैशाखसम्म चुनाव गराउँछु गराउँछु भनेको छ। निर्वाचन आयोगले किन बोल्दैन। शंका गर्नुपर्ने बेला भएको छ।’

हिजो प्रचण्डलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र मान्ने सर्तमा शान्ति प्रक्रियामा ल्याएर राजा फालेको स्मरण गर्दै देउवाले अहिले ओली र प्रचण्ड नै राजा भन्दा ठूलो हुन खोजेको आरोप लगाए। ‘ओली र प्रचण्ड राजाभन्दा ठूलो हुन खोजे। कुर्सीका लागि मारामार भयो। हाम्रै पार्टीमा समस्या आइसकेको छ,’ उनले भने, ‘अदालतमा मुद्दा विचाराधीन छ। यस्तो बेलामा अदालतको निर्णय पर्खने कि के गर्ने भन्नेबारेमा दुई कुरा पार्टीभित्र आयो। तर निर्णय पर्खनुको विकल्प छैन।’

उनले अदालतमा राम्रो वकिल राखेर बहस गराउन छोडेर जुलस निकाल्ने प्रतिस्पर्धा गरेको भन्दै ओली–प्रचण्डको आलोचना गरे। ‘अदालतमा मुद्दा विचाराधीन छ। राम्रो वकिल राखेर बहस गराएको भए हुन्थ्यो। बेकारमा जुलस निकाल्ने प्रतिस्पर्धा चलेको छ,’ उनले भने, ‘अदालतले जुलुस हेरेर निर्णय गर्ने भए त किन चाहियो अदालत ?’ उनले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि र निर्वाचन भए पनि कांग्रेसलाई मान्य हुने बताए।

‘पुनर्स्थापना भए पनि ठिक छ, चुनाव भए पनि ठिक छ। अदालतभन्दा ठूलो अदालत जनता हो। जनताभन्दा ठूलो अदालत अर्को छैन,’ उनले भने, ‘अदालतमा विचाराधीन मुद्दामा यस्तो गर, उस्तो गर भन्न मिल्दैन। विचाराधीन मुद्दा छ। अदालतको फैसला पर्खौं अनि निर्णय गरौं भनेको पार्टीकै एकथरी साथीहरु के भन्छन्, अर्कोथरी के भन्छन्।’

अदालतमा जारी बहसको निर्णय कुर्ने काम आयोगको नभएको देउवाको भनाई थियो। सभापति देउवाले सूर्य चिन्हको विवाद छिटो टुंग्याउनसमेत आग्रह गरे। त्यसो त देउवाले नेकपा विवादले आफ्नै पार्टीमासमेत समस्या शुरु भएको बताएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed