बजारमा १५ कम्पनीको आईपीओ आउँदै, कुनको कति ?

0
-ipo-ruru

काठमाडौं । आईपीओमा लगानीकर्ताको आकर्षण दिन प्रतिदिन बढ्दो छ । पछिल्ला समयमा निष्कासन भएका आईपीओमा लाखौँको संख्यामा आवेदक थपिने गरेका छन् ।

पछिल्लोपटक खुलेको ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा कीर्तिमानी संख्याका सर्वसाधारण लगानीकर्ताबाट आवेदन परेको छ । ज्योतिको आइपिओमा १८ लाख बढिले आवेदन दिएका छन् । जुन हालसम्मकै ठूलो माग हो ।

यद्यपि, यो संख्या लगानी गर्न योग्य आर्थात् डिम्याट खाता खोलेका लगानीकर्ताको करिब ५८ प्रतिशत मात्र हो । यसको अर्थ अझै सेयर कारोबारकै लागि भनेर डिम्याट खाता खोलेका ४० प्रतिशतभन्दा बढीले आइपिओमा लगानी गरेका छैनन् ।

कति पुगे डिम्याट खाता खोल्ने ?

सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को तथ्यांकअनुसार हालसम्म ३१ लाख ९३ हजार ७ सय ८९ जनाले डिम्याट खाता खोलेका छन् ।

किन बढ्दैछ आईपीओमा आकर्षण ?

आईपीओमा नगण्य जोखिम तथा छोटो समयमै पनि मनग्य नाफा देखेरै लगानीकर्ता आकर्षित भएका हुन् । पहिले पहिले विशेषगरी लघुवित्त र बिमा कम्पनीमा बढी आकर्षण हुने गरेकोमा अहिले नेप्से परिसूचक बढेर करिब एक वर्षको अन्तरालमै दोब्बर पुगेसँगै सबै कम्पनीका आइपिओमा पूर्तिभन्दा कैयौँ गुना बढी आवेदन पर्ने गरेको छ ।

त्यतिवेला हेपिने गरेका हाइड्रोपावर कम्पनीहरूको समेत आज १० कित्ता सेयर पाउँदा भाग्यमानी ठहरिने दिन आएको छ । केही समयको अन्तरालमै प्राथमिक तथा द्वितीय बजारमा समेत नयाँ लगानीकर्ताको अभूतपूर्व आकर्षण हुनुमा विशेषगरी नेपाल पुनर्बिमा कम्पनी कोसेढुंगा सावित भएको विश्लेषकहरू बताउँछन् ।

करिब एक वर्षअघि एनआरआइसीको आइपिओमा करिब २ लाखले मात्र आवेदन दिएका थिए । त्यतिवेला डिम्याट खाता हुनेको संख्या नै कम भए पनि कम आवेदन पर्नुमा कोरोना महामारीको सुरुवाती त्रासले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

आइपिओ टर्नीङ प्वाइन्ट ?

शेयरबजारमा निफ्राको शेयरलाई टर्नीङ प्वाइन्ट रुपमा लिने गरेको पाइन्छ । निफ्राको ठूलो संख्याको आइपिओले गाउँ–गाउँसम्म सेयरप्रतिको जागरण पुर्‍याउन थप भूमिका खेल्यो ।

अहिले जुनसुकै कम्पनीका केही लाख कित्ता सेयर निष्कासन गरिँदा पनि १० लाखभन्दा बढीको आवेदन पर्ने गरेको छ । यसले सेयरबजारमा, विशेषगरी प्राथमिक बजारमा नयाँ लगानीकर्ताको आकर्षण र प्रवेश तीव्र गतिमा बढ्दै गएको देखाउँछ ।

यतिवेला नयाँ आउँदै गरेका आइपिओबारे लाखौँ लगानीकर्तालाई चासो छ । त्यस्तै, आइपिओ खुल्नेबित्तिकै सिडिएसको मेरोसेयर पोर्टलले काम नगर्ने समस्या झेलिरहेका लगानीकर्तालाई समस्या न्यूनीकरणका लागि भइरहेका सुधारका प्रयासबारे पनि जान्ने उत्सुकता उत्तिकै छ ।

अब लगानीकर्ताले कुन कम्पनीको आईपीओ भर्न पाउने ?

चैत ६ गते शुक्रबारदेखि लगानीकर्ताले सिंगटी हाइड्रो कम्पनीको शेयर भर्न पाउने भएका छन् । कम्पनीले सर्वसाधारणको लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीले कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।

यी १५ कम्पनी आईपीओ निष्कासन गर्दै

११ हाइड्रोपावर र डिस मेडिया नेटवर्कको गरी १५ कम्पनीको आइपिओ अनुमतिको पर्खाइमा रहेका छन् । निकट भविष्यमै प्राथमिक बजारमा १५ कम्पनीका करिब ५ करोड ५६ लाख कित्ता आइपिओ निष्कासन हुँदै छ । यसमध्ये सर्वसाधारणको प्रमुख रोजाइमा पर्ने गरेका लघुवित्त कम्पनी २ वटा छन् ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आइपिओ जारी गर्न आवश्यक तयारी गरिरहेको छ । त्यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ निष्कासन गर्न निवेदन दिएको छ ।

डिस मेडिया नेटवर्क लिमिटेड २३ लाख ८५ हजार ९ सय २९ कित्ता आइपिओ निष्कासनको तयारीमा छ । बाँकी १० कम्पनी भने जलविद्युत् (हाइड्रोपावर) समूहका छन् ।

हाइड्रोपावरअन्तर्गत साहस ऊर्जा लिमिटेडको १ करोड ५ लाख, सामलिङ पावर कम्पनी लिमिटेडको १२ लाख ३० हजार, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड को १२ लाख, सयपत्री हाइड्रपावर लिमिटेडको ९० लाख, हिमालयन हाइड्रोपावर लिमिटेडको २२ लाख ५० हजार कित्ता आइपिओ आउने प्रक्रियामा छन् ।

त्यसैगरी, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड ७ लाख ३६ हजार २ सय ८६, मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड १ करोड ५० लाख, ङ्यादी हाइड्रोपावर लिमिटेड ४० लाख ५० हजार, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २५ लाख १८ हजार २ सय ३० र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २५ लाख कित्ता आइपिओ निष्कासनको प्रतीक्षामा छन् ।

त्यस्तै, बलेफी हाइड्रोपावरले पनि प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि ३६ करोड ५५ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको हो । ग्रिन भेन्चरले ६२ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो ।

बलेफीको ग्लोबल आइएमई र ग्रिन भेन्चरको लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed