जुम्लामा तनाव पैदा हुन सक्ने भन्दै डा गोविन्द केसी काठमाडौं आउँदै, काठमाडौंमै सत्याग्रह सुरु गर्ने

0
तस्बिर सौजन्य: महेन्द्र हमाल

जुम्ला । जुम्लामा अनसनमा रहनुभएका डा.गोविन्द केसीले तनावको परिस्थति पैदा हुन सक्ने आकलन गर्दै जुम्लाबाट फर्किएर काठमाडौंमै सत्याग्रह सुरु गर्ने बताउनुभएको छ ।

उहाँले दुई वर्षअघि सत्याग्रहमा रहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले जसरी आतङ्क फैलाउँदै हिंसा र तोडफोड गरेको थियो त्यस्तै अवस्था फेरि आउन सक्ने भन्दै उहाँले काठमाडौं फर्किएर सत्याग्रह अनशन थाल्ने बताउनुभएको छ ।

सोमबार डा केसीले एक विज्ञप्ति जारी गर्दै आफ्नो मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल नगरेको बरु उल्टै रातारात अपहरणशैलीमा सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको बताउनुभएको छ ।

डा केसीद्वारा प्रकाशित विज्ञप्तिः

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ। तर यसबीच हाम्रा मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन। बरु उल्टै रातारात अपहरणशैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको छ।

दुई वर्षअगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्‍यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन्। त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं। यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छौं। साथै हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने जानकारी पनि गराउन चाहन्छौं।
डा गोविन्द केसी
जुम्ला
२०७७ असोज ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed