योनीमा काल बोकेर बाँचिरहेका छौँ (कविता)

0
collage (3)

कविता

नारीको अस्तित्व
आधा आकाश ढाक्ने नारीहरु
हरेक युगमा दिइ रहन्छन्
आफ्नो अस्तित्व र पवित्रताको अग्नि परीक्षा
नारी स्वरुप ढुङ्गा पुज्ने यो समाजमा
छोरी र चेलीहरु आफ्नैबाट
भइ रहन्छन् असुरक्षित
घर, छाउ गोठ र सडक पेटीहरुमा ।

हाम्रो समाजमा जब एउटी नारी
अँध्यारो कोठामा नाङ्गिन्छे
तब उसलाई
यही समाजले वेश्याको उपमाले
अलङ्कृत गर्दै
उसको अपमान गरिरहन्छ
तर त्यही कोठामा
उसको अगाडि नाङ्गिने पुरुष
वीर कहलिन्छ र त
शान देखाउँछ आफ्नो पुरुषार्थको ।

लैङ्गिक असमानताको यो व्युहचक्रमा
आठ महिने सोनाली बलात्कृत हुन्छिन्
त्यसैले लाग्छ हामी नारीहरु
योनीमा काल बोकेर बाँचिरहेका छौँ
र त पिडित निर्मला र भागिरथीहरुले
न्यायको कठघरामा उभिएर
भागवत गीतालाई साक्षी राख्दै
कहिलेसम्म न्यायको भिख मागिरहन्छन् रु

सिंहदरबार अभिनय गर्न खप्पिस छ
र त सिंहदरबारको शासक
टुँडिखेलमा उभिएर
कानुनी शासनको दुहाइ दिन्छ
शितल निवास आँखा चिम्लेर मौन बस्छ
त्यसैले हाम्रो न्यायालय
आँखामा कालो पट्टी बाँधेर
संविधानका धाराहरुमा कैदी बनेको बेला
अखबारहरु बलात्कारको समाचार बेचि रहन्छन् ।

साँच्चै हामी नारीहरु
हाम्रो जिन्दगीको कठिन मोडमा छौँ
किनभने कहिले प्रेमका नाममा
एउटा प्रेमी पुुरुषले
आफ्नो पुरुषार्थ देखाउँदै
हामी नारीमाथि एकान्तमा
एसिड प्रहार गर्छ
छाउ गोठमा एक्लै ढुकेर
नारी अस्मितामाथि धावा बोल्छ
तर पनि हामी मौन बस्छौं ।

त्यसैले अब
लैङ्गिक विभेदको पर्खाल तोडेर
चुला चौकादेखि सदनसम्म
हामी नारी गोलबन्द हुँदै
नारी अस्तित्वको रक्षा गर्नुको
अब कुनै विकल्प छैन ।

© अनिताराज खतिवडा ‘शिखा’
डुमरवाना,बारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed