स्वस्तिमा फरक भूमिका देखिदैछिन् ?

0
swastima-khadka-28072019124234

काठमाडौं । फिल्म ‘बुलबुल’ बाट आफूलाई उच्च कोटीको अभिनेत्रीको रुपमा उभ्याएकी स्वस्तिमा खड्का यही फागुन अन्तिम साताबाट दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’ को छायांकनमा व्यस्त हुँदैछिन् ।

यसमा उनले बाजुराको एक दुर्गम गाउँकी महिलाको भूमिका निर्वाह गर्दैछन् । आफ्नो चरित्रलाई न्याय गर्न अहिले उनी बाजुरामा बोलिने भाषा सिकिरहेकी छन् ।

यो फिल्मपछि उनले ‘पल्पसा क्याफे’ कृतिमाथि बन्न लागेको नाटकमा अभिनय गर्दैछिन् । लकडाउनको समयमा एक अमेरिकी फिल्म समेत साइन गरेकी उनले अब साउथ फिल्ममा डेब्यू गर्न लागेको चर्चा छ ।

साउथ इन्डियन कम्पनी ‘एञ्जल मारीया’ ले निर्माण गर्न लागेको फिल्म ‘थिरिमाली’ को अफर स्वस्तिमालाई गरिएको छ । फिल्मको टिमले उनीसँग भेट गरिसकेको छ ।

स्वस्तिमाले साउथ फिल्मबाट अफर आए पनि कागजी सम्झौता नभएको बताएकी छन् । फिल्मीखबरसँग फोन संवादमा उनले भनिन्, ‘एकपटक मिटिङमा मात्र बसेका हौं । फिल्मको बारेमा अरु केही कुरा भएको छैन ।

स्क्रिप्ट पनि सुनेको छैन । फिल्म गर्ने भएँ भने म आफैं जानकारी गराउनेछु ।’ फिल्मका निर्माता र निर्देशकसँग फागुन ५ गते उनले काठमाडौंमा भेट गरेकी थिइन् ।

‘थिरीमाली’ लाई राजिव सेट्ठीले निर्देशन गर्दैछन् । अहिले उनी काठमाडौंमा छन् । उनले आफ्नो फेसबुकमा स्वस्तिमासँग भेटपछि लिएको एक तस्विर पोस्ट गर्दै लेखेका छन्, ‘लेडी सुपरस्टार अफ नेपाल ।’

उनले फेसबुकमा स्वस्तिमा फिल्ममा अनुबन्ध भएको भन्ने आशयमा बनेको समाचारको लिंक पनि शेयर गरेका छन् । यसले स्वस्तिमाले फिल्म साइन गरेको कुरालाई बल मिलेको छ ।

७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुने फिल्ममा अधिकांश प्राविधिक नेपालबाट हुने बताइएको छ । फिल्म निर्माणमा नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको छ ।

फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने जानकारी प्राप्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed